Section 18
प्रश्नपत्र निर्माण, परिमार्जन तथा परीक्षा सञ्चालन
  (१) आयोगले परीक्षाको लागि प्रश्नपत्रको निर्माण गर्दा सम्बन्धित विषयका दक्ष वा विशेषज्ञद्वारा गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रश्नपत्रको निर्माण गर्ने दक्ष वा विशेषज्ञलाई सम्बन्धित विषयको पाठ्यक्रम, नमूना प्रश्न, प्रश्नपत्र निर्माण गर्दा पालन गर्नु पर्ने शर्त र अन्य आवश्यक विवरण समेत गोप्य रुपले उपलब्ध गराउनु पर्नेछ ।
(३) कुनै एक विज्ञापन बमोजिम हुने परीक्षाको लागि सामान्यतः प्रत्येक विषयको पाँच सेट प्रश्नपत्र निर्माण गर्नु, गराउनु पर्नेछ ।
(४) आयोगको वार्षिक कार्यतालिका अनुसार रिक्त पदको माग प्राप्त हुने समय र प्रश्नपत्र भण्डारमा मौज्दातको अवस्था समेतलाई दृष्टिगत गरी प्रश्नपत्र निर्माण गराउनु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम निर्माण गरिएका प्रश्नपत्रको परिमार्जन (मोडरेशन) आवश्यकता अनुसार एक वा एक भन्दा बढी दक्ष वा विशेषज्ञद्वारा गराउनु पर्नेछ । यसरी प्रश्नपत्रको परिमार्जन गराउँदा दुई वा सोभन्दा बढी समूहबाट अलग अलग रुपमा गराउन सकिनेछ ।
(६) उपदफा (५) बमोजिम प्रश्नपत्रको परिमार्जन गर्दा सकभर सबै पाठ्यांश (खण्ड, समूह, उपसमूह) बाट समानुपातिक रुपमा प्रश्न समावेश गर्नु पर्नेछ । प्रश्नको चयन गर्दा पाठ्यक्रममा तोकिएको समयभित्र उम्मेदवारले उत्तर लेख्न सक्ने किसिमको हुनु पर्नेछ ।
(७) प्रश्न परिमार्जन गर्दा देहायका कुराहरूमा ध्यान दिनु पर्नेछः –
(क) विवादस्पद तथा द्विविधायुक्त प्रश्न नराख्ने,
(ख) पाठ्यक्रमभन्दा बाहिरका प्रश्न नराख्ने,
(ग) जिल्ला न्यायाधीशको पदको स्तरसँग मिल्ने किसिमका प्रश्न राख्ने,
(घ) प्रश्नपत्रको सेट तयार गर्दा एक सेटभित्र रहने प्रश्नहरू नदोहोरिने गरी तयार गर्ने,
(ङ) प्रश्नको परिमार्जन सम्बन्धमा आयोगले तोकेको कार्यविधिको पालन गर्ने ।
(८) आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिको लागि प्रकाशन गरेको विज्ञापन बमोजिम उम्मेदवारको छनौट गर्न सोही विज्ञापनमा उल्लेख भए बमोजिम परीक्षा सञ्चालन गर्नेछ ।
(९) आयोगले लिने परीक्षाको लागि प्रश्नपत्र निर्माण वा परिमार्जन, प्रश्नपत्र निर्माण वा परिमार्जन गर्ने विज्ञको योग्यता, निजले पालन गर्नु पर्ने शर्त र परीक्षा सञ्चालन सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।